नियम ३७
व्यवस्थापन समूह गठन
(१) ऐन वा यस नियमावली बमोजिम अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको दूरसञ्चार सेवालाई निरन्तरता दिन देहाय बमोजिमको एक व्यवस्थापन समूह गठन हुनेछः-
(क) प्राधिकरणले तोकेको प्राधिकरणको सदस्य -संयोजक
(ख) प्रतिनिधि (कम्तीमा उपसचिवस्तर), अर्थ मन्त्रालय -सदस्य
(ग) प्रतिनिधि (कम्तीमा उपसचिवस्तर), मन्त्रालय -सदस्य
(घ) प्रतिनिधि (कम्तीमा उपसचिवस्तर), कानून, न्याय तथा
संसदीय मामिला मन्त्रालय -सदस्य
(ङ) प्राधिकरणले तोकेको प्राधिकरणको निर्देशक -सदस्य-
सचिव
(२) व्यवस्थापन समूहले प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक समितिले प्रयोग गर्ने सम्पूर्ण अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व पूरा गर्नेछ।
(३) व्यवस्थापन समूहले नियम १८ बमोजिम प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति तथा रेडियो फ्रिक्वेन्सीको व्यवस्थापन त्यस्तो नियन्त्रणमा लिएको छ महिनाभित्र गरिसक्नु पर्नेछ।
(४) व्यवस्थापन समूहले सम्पत्तिको व्यवस्थापन र दूरसञ्चार सेवा सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति प्राधिकरणले स्वीकृत गरेको सङ्ख्यामा नियुक्ति गरी काममा लगाउन सक्नेछ।
(५) व्यवस्थापन समूहले आफूले गर्नुपर्ने काममा सहयोग पुरयाउन आवश्यक कार्यदल गठन गर्न सक्नेछ।
(६) उपनियम (५) बमोजिमको कार्यदलको कार्यक्षेत्र तथा शर्तहरु (टर्मस्‌ अफ रेफेरेन्स) कार्यदल गठन गर्दाका बखत व्यवस्थापन समूहले निर्धारण गरेबमोजिम हुनेछ।
(७) उपनियम (१) बमोजिमको व्यवस्थापन समूहको संयोजक तथा सदस्यले प्राधिकरणले तोके बमोजिमको पारिश्रमिक तथा अन्य सुविधा पाउनेछन्‌।
(८) उपनियम (७) बमोजिमको पारिश्रमिक तथा अन्य सुविधाको खर्च प्राधिकरणले व्यहोर्नेछ।
(९) व्यवस्थापन समूहको सचिवालय प्राधिकरणमा रहनेछ।
(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियम बमोजिम व्यवस्थापन समूह गठन नभएसम्मका लागि प्राधिकरणले कम्तीमा निर्देशक सरहको कर्मचारीलाई खटाउनेछ। त्यसरी खटिएको कर्मचारीले यस नियमावली बमोजिम व्यबस्थापन समूहले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्नेछ। यसरी खटिने कर्मचारीको सहयोगका लागि आवश्यक कर्मचारी प्राधिकरणले खटाउनेछ।